समाज विकासमा ‘वाद’ को भूमिका
मानिसहरुबिच अन्तरक्रिया भएकै कारणबाट मानव समाज निमार्ण सम्भव भएको भन्ने कुरामा अहिलेसम्मका समाजशास्त्रीहरुको एकमत रहेको छ । अन्तरक्रियाबाट प्रारम्भिक मानव समाज निमार्ण भएको मात्र होईन, अहिलेको आधुनिक समाज निमार्णमा पनि अन्र्तक्रियाको ठूलो भूमिका रहेको छ । किनभने जब मानिसहरुबिच अन्तरक्रिया हुन्छ, त्यसबाट नयाँ–नयाँ विचारहरु प्रस्फुटित हुन्छन् । जसले गर्दा साविकको सोच, विचार र अवस्थाबाट समाज पनि अग्रगामी तथा प्रगतिशील दिशामा विकसित हुँदै जान्छ । यसरी मानव समाजका सदस्यहरुबिच हुने अन्तरक्रियाबाट निस्किने नविनतम सोच तथा विचारलाई ‘वाद’ भन्ने गरिन्छ ।
समाजको विकास र मानिसको समृद्धिका खातिर विश्वमा धेरै विद्वानहरुले विभिन्न किसिमका वाद तथा विचारको प्रतिपादन गरेको छन् । पुँजीवाद, समाजवाद, साम्यवाद लगायतलाई विश्वकै आर्कषक विकासका राजनितिक सिद्धान्तका रुपमा लिने गरिएको छ । यीनै सिद्धान्तलाई आफ्नो मार्गदर्शन बनाएर राजनितिक दलहरुले शासनसत्ताको गन्तव्य तय गर्ने गरेका छन् । सबै सिद्धान्तका आ–आफ्नै विशेषता छन् । संसारका सैयौं देशहरुमध्ये थोरै देशहरुमा ती सिद्धान्तले सफलता प्राप्त गरेका छन् । पुँजीवाद होस् वा साम्यवाद होस्, कुन ठूलो र कुन राम्रो भनेर एकिन गर्न सक्ने अवस्था छैन् । किनकि अहिले विश्वकै शक्तिशाली राष्ट्रको सूचीमा संयुक्त राज्य अमेरिका र चीन पर्दछन् । जसमध्ये अमेरिकामा पुँजीवादी व्यवस्था छ भने चीनमा साम्यवादी व्यवस्था छ ।
नेपालमा साम्यवादको अभ्यास र आवश्यकता
नेपालको सन्दर्भलाई हेर्ने हो भने यहाँका राजनितिक दलहरु पुँजीवाद र साम्यवाद गरी दुईवटा खेमामा विभाजित छन् । नेपाली काङ्ग्रेससहित केहि अरु साना दलहरुले पुँजीवादको पक्षपोषण गर्ने गरेका छन भने नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित केहि अरु साना दलहरुले साम्यवादीको कित्तामा आफूलाई उभ्याउने गरेका छन् । विचार र दृष्टिकोणका आधारमा दुवै पक्ष सहि भएपनि नेपालको सन्दर्भमा सामान्यीकरण गरेर व्यवहारिकता आधारमा कुन ‘वाद’ उपयुक्त हुन्छ भनेर छान्नु जरुरी देखिन्छ । नेपाली समाजको आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थालाई हेर्दा नेपालमा साम्यवादी व्यवस्था आवश्यक रहेको भन्दै धेरै साम्यवादी (कम्युनिष्ट) राजनितिक दलहरुले वकालत गरीरहेका छन् ।
देशको शासनसत्ता सम्हालेको बेला जनप्रिय कार्यक्रमहरु ल्याएर आफूलाई अब्बल कम्युनिष्ट पार्टीको रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवाद–लेलिनवाद) ले मार्क्सवाद र लेलिनले प्रतिपादन गरेका माक्र्सवाद र लेलिनवादलाई अबलम्बन गर्दै आईरहेको छ । माक्र्सवादी दर्शन, राजनितिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादभित्रका मुख्य तत्वहरु हुन् । विश्वमा कम्युनिष्ट सिद्धान्तका समर्थकहरुले मार्क्सवाद र लेलिनवादलाई मुख्यवादका रुपमा अंगालेको पाईन्छ ।
नेपालको वर्तमान अवस्थालाई हेर्ने हो भने लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको छ । संसारमा अहिलेसम्म अभ्यास भएको यो भन्दा राम्रो शासन व्यवस्था कतै छैन् । तसर्थ नेपाली समाजको अबको बहसको एजेण्डा भनेको आर्थिक समृद्धि हो । आर्थिक समृद्धिका लागि मार्क्सवादी विचारधारा अन्तर्गत मार्क्सको राजनितिक अर्थशास्त्रको सिद्धान्तलाई व्यवहारमा उर्तानु जरुरी छ । राजनितिक विचारधाराका रुपमा स्थापित मार्क्सवादको पक्षपोषण गर्ने कम्युनिष्ट सिद्धान्तका परिपालक साम्यवादीहरुले पुँजीवादमा जस्तो कोहि मालिक र कोहि मजदुर हुने व्यवस्थालाई अस्वीकार गरेका छन् । यसको मतलब साम्यवादी व्यवस्थामा सबै जनता बराबर हैसियतमा हुन्छन् । कसैले कसैलाई शोषण दमन र असमान व्यवहार गर्दैन्न ।
नेपालमा साम्यवादका लागि नेकपा एमालेको भूमिका
नेपालमा आफूलाई अब्बल कम्युनिष्ट पार्टीको रुपमा स्थापित गर्न सफल भएको नेकपा एमालेले मार्क्सवाद, लेलिनवाद र जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादलाई अङ्गिकार गर्दै आएको छ । वर्तमान समाजलाई परिवर्तन गरेर सभ्य र समृद्ध समाज निमार्णका लागि मार्क्सवाद, लेलिनवाद जस्ता दर्शनको ठूलो भूमिका हुनेमा दुईमत छैन । नेकपा एमालेले यीनै दर्शनलाई व्यवहारमा उर्तादै गर्दा आर्थिक समृद्धिलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको छ ।
पुँजीवादी व्यवस्थामा जस्तो थोरै नागरिकहरु मालिक र बहुसंख्यक नागरिकहरु मजदुरको रुपमा बाँच्नुपर्ने अवस्थाबाट समाजलाई माथि उठाउन साम्यवादी व्यवस्थाका अभ्यासकर्ताहरुले ध्यान पु¥याउनुपर्छ । नेपालको अहिलेको आर्थिक अवस्था हेर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत पुँजीवादी व्यवस्थाबाट ग्रसित भएर मालिकले मजदुरमाथि शोषण दमन र अपहेलना गर्ने प्रवृत्ति फस्टाईरहेको छ । जसले गर्दा धनीहरु झन् धनी हुँदै जाने र गरिबहरु झन् गरिब हुँदै जाने डर लाग्दो स्थिती नेपालले भोगिरहनु परेको छ ।
साम्यवादी व्यवस्थाका पक्षधरहरुले सबै जनतालाई बराबर हैसियत दिने हो भने सबै जनतालाई धनी बनाउन जरुरी छ । यसका लागि जनतालाई मजदुरको रुपमा नभई मालिकको रुपमा स्तरउन्नति गराउनु पर्दछ । जनताको आर्थिकस्तर उकास्न रोजगारी खोजेर विदेश पलायन गराउने नभई स्वदेशमै उद्यमशीलतामा लाग्न प्रेरित गर्नुपर्छ । अहिले पनि रोजगारीको खोजीमा भनसुनका लागि भौतारिरहेका युवा शक्तिलाई सीप विकासमा लगानी गरेर उद्यमसँग जोड्न सकियो भने मात्र आर्थिक समृद्धिसहितको साम्यवादी व्यवस्थाको सपना साकार हुनसक्छ । जहाँ मजदुरले जस्तो श्रमको मुल्य मात्र नभई श्रम र लगानीको अतिरिक्त मुल्य समेत प्राप्त गर्न सकियोस ।
आफूलाई लोकप्रिय कम्युनिष्ट पार्टीको रुपमा स्थापित गरेको नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन गरेर नयाँ नेतृत्व छान्न लागिरहेको सन्दर्भमा जनतालाई धनी बनाउनका लागि उद्यमशीलतासँग जोड्न मुख्यतया दुईवटा कामहरु गर्नुपर्ने देखिन्छ । पहिलो काम भनेको हालसम्म पार्टीले उद्योग क्षेत्रमा लिएको नितिको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्छ । दोश्रो काम भनेको उद्योग तथा व्यवसायको क्षेत्रमा सफलता पाईसकेका व्यक्तिहरुलाई पार्टीभित्र सम्बन्धित विभागको जिम्मेवारी दिएर आवश्यक निति निमार्णका लागि संसदमा सक्रिय भूमिका खेल्नुपर्ने देखिन्छ । जसले गर्दा राज्यका तीनवटा अंगमध्ये व्यवस्थापिका र कार्यपालिकाले निसंकोच जिम्मेवारी निर्वाह गर्ने वातावरण बनोस ।
यसरी मार्क्सवादलाई अबलम्बन गर्दै साम्यवादी राज्यको परिकल्पना गर्ने नेकपा एमालेले आम नेता कार्यकर्ता र नेपाली जनतालाई उद्यमशीलतासँग जोड्न सके राजनितिक दलको नाममा निर्वाचनको समयमा हुने चन्दा आतंक र देशमा हुने भ्रष्ट्राचारको अन्त्य भई देशमा सुशासनसहित आर्थिक रुपमा समृद्ध देश नेपाल बन्नेमा दुई मत नहोला । जसले गर्दा सम्पूर्ण विकृति, विसङ्गतीको जरा उखेलिई देशमा सभ्य र सुसँस्कृत शासन पद्धतिको विकास हुनेछ । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा सार्थक हुनेछ । उद्यमशील नेतृत्वको छनौट लागि पार्टीको १० औं महाधिवेशन एउटा सुनौलो अवसर बनोस् ।
(कार्की दोलखा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले दोलखाका युवा नेता हुनुहुन्छ ।)