दोलखा । नेकपा एमालेको दशौं महाधिवेशनमा दोलखाबाट सहभागिता जनाउने १७ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचन भएका छन् ।
खुला, महिला र दलित गरी २३ जनाले महाधिवेशन प्रतिनिधिको रुपमा भाग लिन पाउने भएपनि बिहीबार साँझसम्म १७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समिति श्रोतले जनाएको छ । निर्विरोध निर्वाचित हुनेहरुमा खुला भूगोलतर्फ मेलुङ गाउँपालिकाबाट नरबहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिकाबाट भरत बहादुर केसी, तामाकोशी गाउँपालिकाबाट जिवसराज खड्का, शैलुङ गाउँपालिकाबाट धनबहादुर तामाङ रहनुभएको छ । त्यसैगरी कालिञ्चोक गाउँपालिकाबाट बालकृष्ण शिवाकोटी, गौरीशंकर गाउँपालिकाबाट शुब शेर्पा, विगु गाउँपालिकाबाट ठूला थामी र जिरी नगरपालिकाबाट मित्र जिरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
महिलातर्फ कमला बस्नेत, कालिका पाठक, शान्तिमाया पाख्रिन, गायत्री आचार्य, उर्मिला थामी, शान्तिमाया तामाङ र गोमा केसी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी दलिततर्फ सुन्दर लामिछाने र टेकबहादुर घतानी निर्विरोध निर्वाचित हुन सफल हुनुभएको छ ।
खुला भूगोलतर्फ बैतेश्वर गाउँपालिकामा हेमन्त चौंलागाँई, हरिबहादुर जिरेल र रेसमराजस्वराज रिमाल प्रत्यासी भएपनि सहमतिका लागि प्रयास भईरहेको बुझिएको छ ।
त्यस्तै पूर्ण खुलातर्फ ५ जनाका लागि २४ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । जसअन्र्तगत नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, सचिव भरत दुलाल, उपसचिव डवल पाण्डे, सचिवालय सदस्य हिरा थोकर, जिल्ला कमिटी सदस्य राजेन्द्र मानन्धर, सुन्दर कार्की, चिरञ्जीवी मास्के, होम पाठक, ध्रुब आचार्य लगायत २४ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।
भूगोल खुला, महिला र दलित गरी १७ जना निर्विरोध निर्वाचित भईसकेकोले भूगोल खुलातर्फ बैतेश्वर गाउँपालिका र पूर्ण खुलातर्फ ५ जनाका लागि समेत सहमति जुटाउन समय माग भएकोले उम्मेद्वारको अन्तिम नामावली शुक्रबार विहान १० बजे प्रकाशित गर्ने गरी समय थप गरिएको निर्वाचन समिति संयोजक शंकरलाल श्रेष्ठले जानकारी दिनुभयो ।
सहमति जुटाउन उम्मेद्वार र पार्टीका जिल्ला ईन्चार्जसहितको नेतृत्व टोलीबिच छलफल भईरहेको एक उम्मेद्वारले जानकारी दिनुभयो । यसअघि बिहीबार साँझ ६ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने समय तालिका सार्वजनिक भएको थियो ।