दोलखा । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्रमुख (डिन) प्राध्यापक डाक्टर डिल्लीराज शर्माले अबको राजनितिक नेतृत्व व्यवस्थापन संकायबाट आएको व्यक्तिले गर्नुपर्ने बताउनुभएको छ ।
चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा शनिबार स्नातकोत्तर तहमा व्यवस्थापन संकाय अन्तर्गत एमविएस कार्यक्रम उद्घाटन गर्नुहुँदै प्राध्यापक डाक्टर शर्माले व्यवस्थापन सम्बन्धि ज्ञान र सीप भएको व्यक्ति सरकारको पुग्न सके देशको विकासमा टेवा पुग्ने बताउनुभएको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुहुँदै शर्माले सेमेस्टर प्रणालीले विद्यार्थीको चौतर्फी मूल्यांकन गर्नुको साथै शिक्षालाई गुणस्तरीय बनाउने बताउनुभयो ।
वर्तमान समयमा व्यवस्थापन संकायप्रति विद्यार्थीहरुको आकर्षण बढीरहेकोले त्रिभुवन विश्वविद्यालयले व्यवहारिक र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम बनाएर लागू गरेको प्राध्यापक डाक्टर शर्माको भनाई छ ।
कार्यक्रममा बोल्नुहुँदै गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरले दोलखा र आसपासका जिल्लाका विद्यार्थीको हितलाई मध्येनजर गर्दै क्याम्पसले एमविएस तहको पढाई शुरु गरेकोले यो अवसरलाई सदुपयोग गरेर गुणस्तरीय शिक्षा प्राप्त गरी आफ्नो भविष्य उज्जवल बनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
त्यसैगरी क्याम्पस प्रमुख शान्तबहादुर केसीले १६ वटा हिमाली जिल्लाका ५६ वटा सामुदायिक क्याम्पसमध्ये स्थापना, विद्यार्थी संख्या र स्रोतसाधनका आधारमा गौरीशंकर बहुमुखी क्याम्पस पहिलो नम्बरमा रहेको स्मरण गराउनुहुँदै यसको गरिमा कायम राख्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा क्याम्पस प्रशासन अहोरात्र लागिरहेको बताउनुभयो ।
कार्यक्रममा गौरीशंकर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय प्रमुख तथा सहायक क्याम्पस प्रमुख सुवास रिमाल र अर्थशास्त्र विषयका सहायक प्राध्यापक विक्रम कार्कीले व्यवस्थापन संकायको महत्व र विषयगत शैक्षिक क्षेत्रको जानकारी गराउनुभएको थियो ।
२०६६ सालदेखि शिक्षा शास्त्र संकायमा स्नातकोत्तर तहको अध्यापन गराउँदै आएको क्याम्पसले यस बर्षदेखि व्यवस्थापन संकायको (एमविएस) अध्यापन शुरु गरेको हो ।