दोलखा । आईतबारबाट तामाकोशी गाउँपालिका वा नम्बर ६ च्यामामा शुरु सञ्चालन हुन लागेको तामाकोशी गाउँपालिकास्तरिय निःशुल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था च्यामा–काठमाण्डौं सेवा समाजले जनाएको छ ।
च्यामा–काठमाण्डौं सेवा समाजको आयोजना तथा काठमाण्डौं मेडिकल कलेज, काठमाण्डौंको प्राविधिक सहयोगमा मंसिर ५ गते आईतबारदेखि ७ गते मंगलबारसम्म सञ्चालन हुन लागेको शिविरको सम्पूर्ण तयारी पुरा भएको च्यामा–काठमाण्डौं सेवा समाजका अध्यक्ष गणेश घिमिरेले जानकारी दिनुभयो । च्यामास्थित महेन्द्र माध्यामिक विद्यालयमा सञ्चालन हुने शिविरमा मुटुरोग, स्त्रीरोग, दन्तरोग, नाक, कान, घाँटी लगायतका १३ रोगको विशेषज्ञ सेवा प्रदान गरिनेछ ।
आईतबार दिउँसो १ बजेबाट शुरु हुने शिविरले सोमबार र मंगलबार विहान ८ बजेदेखि नै सेवा प्रवाह गर्ने भएको छ । शिविरमा काठमाण्डौं मेडिकल कलेज, काठमाण्डौंका विभिन्न रोगका विशेषज्ञसहित करिब ४० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण आयोजकले जनाएको छ । शिविरको व्यवस्थापन आयोजक च्यामा–काठमाण्डौं सेवा समाज र तामाकोशी गाउँपालिकाले संयुक्त रुपमा गर्ने पनि अध्यक्ष घिमिरेको भनाई छ ।
कोरोना संक्रमणको जोखिम, आर्थिक समस्या र खेतीपातीमा व्यस्त रहेका कारण आफ्नो स्वास्थ्य उपचार गराउन नसकेका नागरिकलाई मध्यनजर गरेर स्थानीय स्तरमै स्वास्थ्य परिक्षण तथा उपचार सेवा दिने उद्धेश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको च्यामा–काठमाण्डौं सेवा समाजका अध्यक्ष घिमिरेले बताउनुभयो ।
च्यामामा जन्मेर विभिन्न सिलसिलामा काठमाण्डौंमा बसोबास गर्ने युवाहरुको नेतृत्वमा २०७५ सालमा स्थापना भएको च्यामा–काठमाण्डौं सेवा समाजले स्वास्थ्य समस्या लगायत विभिन्न खालको अफ्ठ्यारोमा परेका च्यामाबासी नागरिकहरुलाई आर्थिक तथा सामाजिक सहयोग गर्दै आईरहेको छ ।