दोलखा । कुपोषणबाट पिडित बालबालिकालाई उपचार सेवा प्रदान गर्ने उद्धेश्यले जिरीमा पोषण पुर्नस्थापना गृह सञ्चालन हुने भएको छ ।
दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका कुपोषित बालबालिकाको उपचार गर्ने गरी आगामी पुस महिनाबाट जिरी अस्पतालमा पोषण पुर्नस्थापना गृह सञ्चालन हुन लागेको जिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव दाहालले जानकारी दिनुभयो । चालु आर्थिक बर्ष २०७८/७९ मा संघिय सरकारलबाट पोषण पुर्नस्थापना गृह सञ्चालनका लागि एक करोड रुपैँया बजेट प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख दाहालको भनाई छ ।
गृहमा कुपोषण पहिचान भएर आएका ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई आफ्नो आमासँगै राखेर निःशुल्क खानपानसहित उपचार गरिनेछ । बालबालिकालाई उपचार पश्चात्त पोषणयुक्त र सन्तुलित खाना खुवाउन सिकाउने उद्धेश्यले उपचारको अवधिमा आमालाई पोषण सम्बन्धि सचेतनामूलक शिक्षा दिईने स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो ।
गाउँघर क्लिनिक, खोप क्लिनिक, स्वास्थ्य संस्था, बहिरंग उपचार केन्द्र तथा विभिन्न सन्दर्भमा महिला स्वास्थ्य स्वयमसेविकाबाट पहिचान भएका कुपोषित बालबालिकाले पोषण पुर्नस्थापना गृहमा उपचार सेवा पाउनेछन् । साधारणतया उमेर अनुसार बच्चाको तौल र उचाई नभएमा कुपोषित भएको मानिन्छ ।
गृहमा औषत ३० दिनसम्म राखेर निःशुल्क खानपानसहित उपचार गरिनेछ । गृह सञ्चालनका लागि मेडिकल अफिसर, व्यवस्थापक, नर्सिङ स्टाफ, भान्से र सफाईकर्मीसहित १० जना कर्मचारी समेत नियुक्ति भईसकेको छ ।