काठमाण्डौं । नेपाली काङ्ग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती प्रदेशबाटै केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँको उम्मेद्वारी शेखर कोइरालाको टिमबाट रहेको छ । जिल्ला पार्टी सभापतिको रुपमा सफल कार्यकाल सम्पन्न गरेका धमला महाधिवेशन प्रतिनिधिहरुले आफुलाई चुन्नेमा विश्वस्त रहेको बताउनुहुन्छ ।
यस्तो छ धमलाको राजनीतिक जीवनः
वि.सं. २०३७ बाट नेपाल विद्यार्थी संघको सदस्यता लिई राजनीतिमा होमिनुभएका धमला सोही वर्ष नेवि संघ, अचने मावि धादिङ इकाई अध्यक्ष बन्न सफल हुनुभएको थियो । विद्यार्थीकालमा निकै संघर्षपूर्ण राजनीति गर्नुको साथै पन्चायत विरुद्धको आन्दोलनमा सक्रिय भएर लाग्नुभएको थियो ।
केही समय शिक्षण पेशामा समेत आवद्ध हुनुभएका धमला २०४७ सालमा नेपाल शिक्षक संघ धादिङको संस्थापक सदस्य बन्नुभएको थियो । शिक्षण पेशाबाट अलग भएर पूर्णकालिन कार्यकर्ताको रुपमा राजनीतिमा होमिनुभएको थियो ।
२०५३ सालमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुँदै २०५४ सालमा नेपाली कांग्रेस धादिङ, क्षेत्र नं. २, क्षेत्रीय सचिव बन्नुभएका धमला २०५५ सालमा गाविस राष्ट्रिय महासंघको हुनुभएको थियो । २०५७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्यको जिम्मेवारी पाउनुभएका धमला २०६२ सालदेखि २०६७ सालसम्म नेपाली कांग्रेस, विदेश विभाग सदस्य–सचिवको भूमिका निर्वाह गर्नुभएको थियो ।
२०७२ सालमा सम्पन्न तेर्हौ महाधिवेशनबाट नेपाली कांग्रेस धादिङको सभापति चुनिएपछि सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएका धमलाले आफ्नै कार्यकालमा काँग्रेस धादिङको पार्टी कार्यालय समेत निर्माण गर्नुभएको छ । धमला २०७४ साल भएको निर्वाचनमा प्रदेशसभा सदस्यको (प्रत्यक्षतर्फ) उम्मेदवार समेत हुनुुहुन्छ ।