दोलखा । नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल १० औं जिल्ला अधिवेशनपछि पार्टी कमिटीको कुनै पनि कार्यकारी भूमिकामा नरहनु हुने भएको छ ।
भिलेज खबरसँग कुराकानी गर्नुहुँदै उहाँले यहि पुस २३ गते हुने एमाले दोलखाको १० औं जिल्ला अधिवेशनपछि आफू पार्टीको कुनै पनि कमिटीको कार्यकारी भूमिकामा नरहने बताउनुभएको हो । गत मंसिरमा भएको पार्टीको केन्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्य बन्न इच्छा देखाउनुभएका पोखरेलले दोलखाबाट प्रतिनिधित्व गर्ने अन्य उम्मेद्वारलाई सर्वसहमत बनाउन उम्मेद्वारी नदिएको बताउनुहुन्छ ।
करिब नौ बर्षदेखि एमाले दोलखाको नेतृत्व गरिरहनुभएका पोखरेलले जिल्लाको नेतृत्व अन्य सहकर्मीहरुलाई सुम्पिएर पार्टीको कुनै पनि कार्यकारी पदमा नबसे पनि कट्टर एमाले कार्यकर्ता बनेर भने योगदान गरीरहने बताउनुभयो । आगामी माघ ८ गते सातवटै प्रदेशमा पार्टीको प्रदेश महाधिवेशन हुन लागेको भएपनि प्रदेश कमिटीको पदाधिकारीमा आफू अट्ने सम्भावना नदखेपछि पोखरेलले इच्छा नराखेको देखिन्छ ।
पोखरेलको राजनितिक पृष्ठभूमी
२०३६ सालमा पञ्चाय विरुद्धको विद्यार्थी आन्दोलबाट राजनितिक जीवन शुरुवात गर्नुभएका पोखरेल २०३७ सालमा पाटन संयुक्त क्याम्पसमा अध्ययनरत रहँदा अनेरास्ववियुमा आबद्ध हुनुभएको थियो । २०३८ सालबाट शिक्षण पेशामा संलग्न भएपछि नेपाल राष्ट्रिय शिक्षक संगठनबाट राजनितिक गतिविधिमा संलग्न हुनुभएका पोखरेल आफूले २०४६ सालमा पार्टी भूमिगत अवस्थामा रहँदा संगठित सदस्यता लिएको बताउनुहुन्छ ।
तत्कालिन जफे गाविस नेकपा एमाले गाउँ कमिटीको सचिवको भूमिकामा रहँदा २०४९ सालमा भएको स्थानीय निर्वाचनमार्फत गाविस अध्यक्षमा निर्वाचित हुनुभएका पोखरेल २०५४ सालमा पनि गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो । ईलाका कमिटी सचिव हुँदै २०५० सालमा एमालेको जिल्ला कमिटी सदस्य बन्नुभएका उहाँ केहि बर्षपछि जिल्ला कमिटी सचिवालय सदस्य र २०७० को बैशाखमा भएको नवौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी अध्यक्षमा सर्वसहमत रुपमा निर्वाचित हुनुभएको हो ।
पोखरेलका अनुसार उहाँ विभिन्न भूमिकामा रहँदा भएका पञ्चाय विरोधी आन्दोलनदेखि लोकतन्त्र प्राप्तीका लागि २०६२/६३ मा भएको जनआन्दोलन बेला पटक पटक पक्राउ परी प्रहरी हिरासत र आतङ्ककारी मुद्धा समेत झेल्नुभएको थियो ।
पोखरेलको कार्यकालका मुख्य उपलब्धि
पोखरेलको करिब नौ बर्षको कार्यकालमा २०७० को दोश्रो संविधानसभा निर्वाचनमा दोलखाका दुवै सिट नेकपा एमालेले विजयी प्राप्त गरेको थियो । त्यसैगरी २०७२ को भूकम्पपछि पुर्ननिमार्ण तथा राहत वितरण, २०७३ मा भएको राज्यको पुर्नसंरचना तथा २०७४ को स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन समेत सम्पन्न भएका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा काङ्ग्रेस माओवादीको गठबन्धन हुँदासमेत दोलखाका नौ मध्ये सात पालिकामा एमाले विजयी भएको छ भने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेकोमा सबै सिट गठबन्धनले जित्न सफल भएको थियो ।
आचरण तथा स्वभाव
दोलखा जिल्लाकै हक्की स्वभावका नेता मानिने पोखरेल आचारणकै कारण खासै विवादमा नआउने नेतामा गनिन्छन् । सामाजिक सञ्जालमा आउने उहाँका कतिपय अभिव्यक्ति भने हल्का भएको भन्दै कहिलेकाहिँ टिप्पणी हुने गरेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा तामाकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित पोखरेल गाउँपालिका राष्ट्रिय महासंघ बागमति प्रदेशको अध्यक्ष तथा पार्टीको विधान महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।