दोलखा । पर्यटन प्रबर्द्धन तथा लागू औषध सम्बन्धि जनचेतनाका लागि युवा अभियान्ता अभिनय कार्कीले १०० दिने साईकल यात्रा बिहीबार चरिकोटबाट शुरु गर्नुभएको छ ।
गत बर्षको फागुन महिनामा विश्व शान्तिको कामना गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नुभएका कार्कीले यसबर्ष नयाँ उद्धेश्यसहित साईकल यात्रा शुरु गर्नुभएको हो । ‘फ्रष्टेसन, डिप्रेसन र लागू औषध दुर्व्येसनलाई त्यागौं, समृद्ध राष्ट्र निमार्णका लागि युवाहरु एकजुट बनौं’ भन्ने मूल नाराका साथ साईकल यात्रा शुरु गर्नुभएका कार्कीलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल लगायतले यात्रा सफलताको शुभकामनासहित बिदाई गर्नुभएको छ । तमु ल्होसारको अवसर पारेर कालिञ्चोक भगवतिको मन्दिर परिसरबाट शुरु गर्ने भनिएको साईकल यात्रा मौसम प्रतिकुलताका कारण चरिकोटबाट शुरु गरिएको कार्कीले जानकारी दिनुभयो ।
केहि महिना अगाडिदेखि नै साईकल यात्रा शुभारम्भ गर्ने तयारी गर्नुभएका कार्कीले यात्राका लागि आवश्यक सहयोग जुटाउन समय लागेका कारण केहि ढिलो यात्रा शुरुवात गरेको बताउनुभयो । १०० दिनको यात्रामा ७७ वटै जिल्ला सदरमुकाम पुगेर कम्तीमा सदरमुकाममा रहेको एउटा विद्यालयका विद्यार्थीहरुसँग फ्रष्टेसन, डिप्रेसन र लागू औषध दुर्व्येसनको समस्या र रोकथामका उपायबारे छलफल गर्ने साईकल यात्री कार्कीको योजना रहेको छ ।
भिलेज खबरसँग कुराकानी गर्दै कार्कीले यात्राका क्रममा प्राप्त सुझाव तथा जानकारीका आधारमा तयार गरिने दस्तावेज सरोकारवाला निकायलाई उपलब्ध गराएर लागू औषध दुर्व्येसनीको समस्या र पर्यटन प्रबर्द्धनका लागि नितिगत व्यवस्था गर्न सहयोग गर्ने बताउनुभयो । त्यसैगरी देशभरीमा मुख्य पर्यटकिय स्थलहरुको बारेमा जानकारी लिँदै प्रचारप्रसार गरेर आन्तरिक पर्यटनमा सहयोग गर्ने यात्राको लक्ष्य रहेको छ । चरिकोट सातदोबाटोबाट शुरु भएको यात्रा १०० औं दिनमा कालिञ्चोकको कुरी उपत्यकामा पुगेर टुङ्ग्याउने कार्कीको तयारी रहेको छ ।
को हुन साईकल यात्री कार्की ?
कार्की दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ (साविक लामिडाँडा गाविस) मा २०५६ सालमा जन्मिनुभएको हो । बाल्यकालमा साथीभाईहरुबिच भविष्यमा को के बन्ने भन्ने होडबाजीका कुराकानी हुँदाका बखत देखि नै केहि नयाँ काम गर्ने सोच पाल्नुभएका २२ बर्षिय कार्कीले गतबर्ष मेची–महाकाली पैदल यात्रा गरिसक्नुभएको छ । कक्षा १२ सम्मको अध्ययन गरिसक्नुभएका कार्की सामान्य परिवारमा जन्मनुभएको थियो ।
सामाजिक सेवा तथा अभियानमा रमाउने स्वभावका अभिभावककै कारण उहाँको अभियानमा पारिवारिक साथ सहयोग रहेको छ । शिक्षा शास्त्र संकाय अन्तर्गत नेपाली र मानविकी संकाय अन्तर्गत पत्रकारिता विषयमा कक्षा १२ उतिर्ण गर्नुभएका कार्कीले केहि समय रेडियो भीमेश्वरमा कार्यक्रम प्रस्तोता र केहि अनलाईन समाचार पोर्टलहरुमा संवाददाताको रुपमा काम गर्नुभएको थियो ।
साथीभाइ र आफन्तको सहयोगमा गतबर्ष पैदल यात्रा सफलतापूर्वक पूरा गर्नुभएका कार्कीलाई साईकल यात्राका लागि भने आफ्नो गृह गाउँपालिका कालिञ्चोक गाउँपालिकाले साईकलको व्यवस्थापन गरिदिएको छ भने अन्य ७ वटा पालिकाबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।