दोलखा । यहि पुस २३ गते हुन लागेको नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा हालका पार्टी उपाध्यक्ष नरबहादुर श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
केहि दिनअघि आफ्नो जन्मथलो मेलुङ गाउँपालिकामा नेकपा एमाले गाउँ संगठन कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै श्रेष्ठले दशौं जिल्ला अधिवेशनबाट नेकपा एमाले दोलखाको नेतृत्वमा दावी गर्दै अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।
राजनितिक जीवनी
बुबा बुिद्धमान श्रेष्ठ तथा आमा मनमायाको कोखबाट नवौं सन्तानको रुपमा वि.स २०२१ साल मंसिर २६ गते दोलखाको साविक भेड्पू गाविस वडा नम्बर ५ लामाटार (हाल मेलुङ गाउँपालिका वडा नम्बर–४) मा जन्मिनुभएका भएका श्रेष्ठ विद्यार्थी जीवनदेखि नै राजनितिमा लाग्नुभएको हो । २०३६ सालमा त्रिभुवन माध्यामिक विद्यालय मेलुङमा कक्षा ६ मा अध्ययनरत रहँदा तत्कालिन मालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रारम्भिक कमिटीबाट राजनितिक जीवन शुरु गर्नुभएका श्रेष्ठ १८ बर्षको कलिलो उमेरमै २०३९ सालमा अनेरास्ववियु दोलखाको चौथो अध्यक्ष बनेर काम गर्नुभएको थियो ।
अनेरास्ववियुबाट नै पञ्चायत विरोधी आन्दोलन गर्ने क्रममा श्रेष्ठले २०४१ देखि २०४३ सम्म पटक पटक नजरबन्दमा पर्नुको साथै जेल जीवन समेत भोग्नु परेको थियो । विभिन्न आन्दोलनमा सहभागि भएकै कारण प्रहरी प्रशासनको निशानामा पर्नुभएका श्रेष्ठले विभिन्न शारिरिक यातना पाउनुभयो । छोराले यातना पाएको सुनेपछि आमामा मानसिक समस्या देखा पर्न थाल्यो । यसै रोगले आमाको देहान्त भयो ।
२०४२ सालमा युथ लिगको सदस्यता प्राप्त गर्नुभएका श्रेष्ठ २०४७ सालमा पार्टीको संगठित सदस्य हुँदै २०५७ सालमा जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । जिल्ला कमिटी सदस्य बने लगत्तै पार्टी जिल्ला कमिटीको आर्थिक विभाग प्रमुखको जिम्मेवारी पाउनुभएका श्रेष्ठको कार्यकुशलताकै कारण २०६७ देखि २०७० सम्म सचिवालय सदस्य बन्नुभएको थियो । पार्टी जीवनकै लागि कष्टपूर्ण संघर्ष गर्नुभएका श्रेष्ठले २०७० मा भएको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबी गर्नुभएको भएपनि सहमतिबाट कमिटी गठन गर्ने नेतृत्वको अनुरोधमा इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा गठित जिल्ला कमिटीको उपाध्यक्ष पदमा रहेर करिब नौ बर्षदेखि काम गरिरहनुभएको छ ।
आर्थिक तथा शैक्षिक अवस्था
गरिब परिवारमा जन्मिनुभएका श्रेष्ठ २०४० सालमा प्रवेशिका परिक्षा उतिर्ण गरी उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं जानुभएको थियो । काठमाण्डौं प्रवेश गरेपछि ट्युसन पढाएर आएको आम्दानीले केहि महिना महेन्द्ररत्न क्याम्पसमा शिक्षा शास्त्र संकायमा भर्ना भई प्रविणता प्रमाण पत्र तह अध्ययन गर्नुभएका श्रेष्ठले ट्युसनको पैसाले आफ्नो पढाई निरन्तर गर्न नसक्ने अवस्थामा पुगेपछि दाजुले दिएको पैसाबाट दाजुकै इच्छा अनुसार मेडिकल शिक्षा अन्तर्गत आयुर्वेद विषारथ तथा सामान्य चिकित्सा (पिसिएल इन ट्रेडिसनल एण्ड जनरल मेडिसिन) तहको अध्ययन गर्नुभएका श्रेष्ठले २०४५ देखि २०५४ सम्म नेपाल सरकारको आयुर्वेद विभाग अन्तर्गत कविराज पदमा रही जागिरे जीवन समेत बिताउनु भएको थियो ।
जागिरको सिलसिलामा कास्की (वेगनास), काभ्रे (धुलिखेल), सोलुखुम्बु (नेले), खोटाङ (हलेसी), सिन्धुपाल्चोक (पिपलडाँडा) र आयुर्वेद विभागमा रहेर काम गर्नुभएको थियो ।
पार्टी नेतृत्वको चाहाना बमोजिम जागिर छोडेर पूर्णकालिन राजनितिमा फर्कनुभएका श्रेष्ठले करिब डेढ लाख रकम उपदान पाउने समय पूरा हुनुभन्दा १४ दिनअघि स्थायी जागिरबाट विदा लिनुभएको थियो । आर्थिक रुपमा कमजोर पारिवारिक अवस्थाका श्रेष्ठ गाउँबाट विस्थापित भएपछि आफ्ना तीनजना छोरा र श्रीमतिसहित चरिकोटमा आएर व्यवसायिक तालिम परिषद (सिटिईभिटी) को सम्बन्धनमा दोलखा बहुउद्धेश्यीय तालिम संस्थान नामक निजी प्राविधिक शिक्षालय खोली प्रबन्ध निर्देशकको रुपमा काम गर्नुभएको थियो । श्रेष्ठले दोलखाका गरीब, विपन्न परिवारका छोराछोरीहरुलाई प्राविधिक शिक्षा दिई प्राविधिक शिक्षाको केन्द्रको रुपमा स्थापित गरी मुलुकका विभिन्न भागका विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्यको रुपमा विकास गरी आर्थिक व्यवस्थाप गर्नुभएको देखिन्छ ।
जनसेवामा गरेको योगदान
विभिन्न क्षेत्र र ठाउँमा सेवारत रही पार्टीमा योगदान गरीरहेका कार्यकर्ताहरुलाई २०५४ सालमा पार्टीले बोलाएर निर्वाचनमा उम्मेद्वार बन्ने अवसर दिएको बेला २०५४ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्नुभएका श्रेष्ठ तत्कालिन भेड्पू गाविसको गाविस अध्यक्षमा अत्याधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । निर्वाचित जनप्रतिनिधिको रुपमा काम गरीरहेका बेला २०५२ देखि चलिरहेको राज्य र तत्कालिन नेकपा माओेवादीबिचको ससस्त्र द्वन्द्वको समयमा दुवै पक्षबाट पिडित बन्नुभएको थियो ।
नेकपा एमालेको नेता तथा जनप्रतिनिधि भएकै कारण २०५८ सालमा माओवादी पक्षबाट अपहरणमा पर्नुभएका श्रेष्ठ ठूलो मानसिक यातना सहेर ५ दिनपछि रिहा हुनुभएको थियो । माओवादीको धम्किका कारण गाउँबाट विस्थापित हुनुभएका श्रेष्ठ तीन बर्षपछि २०६१ मा गाउँ फर्कनुभएको थियो । गाउँबाट विस्थापित भएपछि चरिकोटमा गौरीशंकर मेडिकल हल सञ्चालन गरेर बसेको समयमा समेत माओवादीको मेडिकल उपचारमा सहयोग गरेको आरोप लगाएर तत्कालिन राज्य पक्षले नियन्त्रणमा लिई निर्घात कुटपिट गरी तत्कालिन प्रतिपक्ष दल नेकपा एमालेको दबाबमा २४ घण्टापछि रिहा गरेको थियो ।
निडर तथा स्पष्टवक्ताको पहिचान बनाउनु भएका श्रेष्ठ २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेपाली काङ्गे्रस दोलखाका हालका सभापति वर्मा लामालाई पराजित गर्दै मेलुङ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएर काम गरीरहनुभएको छ ।
विदेश भ्रमण
श्रेष्ठले विभिन्न कामको सिलसिलामा भारतको कलकत्ता र सिक्किम र चीनको उहान, सिचुवान, बेईजिङ लगायतका ठाउँको भ्रमण गरिसक्नुभएको छ ।