दोलखा । यहि पुस २३ गते हुन गईरहेको नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशनका लागि अध्यक्ष पदमा नेता भरतबहादुर केसीले दाबी गर्दै उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
केहि दिनअघि एउटा सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै केसीले आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । पार्टीको आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा तेश्रो मत प्राप्त गर्नुभएका केसी नवौं अधिवेशनमा इश्वरचन्द्र पोखरेलको नेतृत्वमा सर्वसहमत रुपमा कमिटी बनाउने भनिएपछि अध्यक्ष पदको दाबीबाट पछाडि हट्नुभएको थियो ।
भिलेजखबरसँग कुराकानी गर्नुहुँदै नेता केसीले आफ्नो पार्टी र प्रतिस्पर्धी पार्टीहरुसँग समेत आवश्यकता अनुसार समन्वय र प्रतिवाद गर्न सक्ने नेतृत्व आम एमाले कार्यकर्ताको चाहना रहेको र त्यो क्षमता आफूले राख्ने भएकोले आफू अध्यक्ष बन्न चाहेको बताउनुभयो ।
आफू पार्टी अध्यक्ष भएमा दोलखा एमालेलाई थप बलियो बनाएर लैजाने केसीको भनाई छ । केसीले भन्नुभयो, “नेकपा एमाले दोलखालाई जनताले हेर्दा रहर लाग्दो र कार्यकर्ताले हेर्दा भरलाग्दो पार्टी बनाएर लैजानका लागि मेरो उम्मेद्वारी हो ।”
राजनतिक जीवनी
केसी वि.स. २०२२ साल भाद्र ७ गते बुबा चन्द्रबहादुर केसी र आमा कृष्णकुमारी केसीको कोखबाट जन्मनु भएको हो । भीम माध्यामिक विद्यालय दोलखामा अध्ययनरत रहँदा २०३६ सालको पञ्चायती विद्यार्थी आन्दोलनमा सहभागि भएर राजनितिक जीवनको शुरुवात गर्नुभएको केसी नेपाल ल क्याम्पसमा उच्च शिक्षा अध्ययनको क्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रारम्भिक कमिटीमा बसेर काम गर्नुभएको थियो ।
कानुनमा स्नातक तह पास गरेर जिल्ला फर्कनुभएका केसीले २०४६ सालमा पार्टीको संगठित सदस्यता लिनु भएको हो । केसी तत्कालिन चरिकोट गाविसको गाउँ पार्टी कमिटी सचिव, ईलाका नम्बर ८ को ईलाका कमिटी सचिव हुँदै २०५० सालमा लालकुमार केसीको नेतृत्वमा रहेको एमाले जिल्ला कमिटी दोलखाको जिल्ला कमिटी सदस्य बन्नु भएको थियो । पार्टी जिल्ला कमिटीमा बसेर काम गर्ने क्रममा जनसाँस्कृतिक मञ्चको दुई कार्यकाल अध्यक्ष, प्रचार विभाग प्रमुख, सचिवालय सदस्य हुँदै शिव भण्डारीको नेतृत्वमा रहेको जिल्ला कमिटीमा उपसचिवको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ ।
हाल नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य रहनुभएका केसी जिल्ला कमिटी दोलखाको सचिवालय सदस्य समेत हुनुहुन्छ ।
नेतृत्वदायी पदिय भूमिका
खेलकुद क्षेत्रमा विशेष दख्खल राख्नुहुने केसी नेपाल खेलकुद महासंघको केन्द्रिय उपाध्यक्ष तथा बागमति प्रदेश प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । हाल भने उहाँ नेपाल खेलकुद महासंघको केन्द्रिय सल्लाहकार समिति प्रमुख हुनुहुन्छ । २०५४ सालमा जिल्ला विकास समिति दोलखाको सदस्यमा निर्वाचित भएर काम गरेको अनुभव पनि केसीसँग रहेको छ ।
२०७४ सालमा भएको राज्य पुर्नसंरचनापछिको स्थानीय तहको पहिलो निर्वाचनमा काङ्ग्रेस–माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेद्वार ईश्वरनारायण मानन्धरलाई पराजित गर्दै भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको छ । निर्वाचित भएपछि भीमेश्वर नगरपालिकाको भौतिक पूर्वाधार र शिक्षामा उत्कृष्ठ कामहरु गरेर चर्चा कमाउनु भएका केसी नेपाल नगरपालिका संघको केन्द्रिय सदस्य तथा नेपाल नगरपालिका संघ बागमति प्रदेशको प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।
राजनितिसँगै कानुन व्यवसायलाई समेत सँगसँगै अगाडि बढाउनु भएका केसी कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसियसन दोलखा ईकाईको दुई कार्यकाल अध्यक्ष भएर काम गुर्नभएको थियो ।
राजनितिक संघर्ष/भोगाई
२०५२ देखि ६२ सम्म देशमा चलेको राज्य र तत्कालिन विद्रोही नेकपा माओवादीबिचको १० बर्षे द्वन्द्वका समयमा नेकपा एमालेका धेरै नेता कार्यकर्ताले कुटपिट, यातना, अपहरणदेखि ज्यानै गुमाउनुपर्ने घटना व्यहोर्नु परेको भएपनि जिल्ला सदरमुकामबासी भएकोले केसी कुनैपनि पक्षबाट त्यस्तो अफ्ठ्यारोमा नपरेको बताउनुहुन्छ ।
विद्यार्थी आन्दोलनका समयमा प्रहरीको सामान्य दमन तथा राजा ज्ञानेन्द्रको माघ १९ को कदमको विरोधमा चरिकोटमा आन्दोलित हुँदा प्रहरीले पक्राउ गरी ३ दिन हिरासत बसेको अनुभव केसीसँग रहेको छ ।
पराजय
२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालिन चरिकोट गाविसको अध्यक्ष पदमा चुनाव लडेका केसी नेपाली काङ्ग्रेसका उम्मेद्वार श्याम श्रेष्ठसँग झिनो मतअन्तरले पराजित हुनुभएको थियो ।
त्यसैगरी २०६६ सालमा भएको नेकपा एमाले दोलखाको आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार बन्नुभएका केसी पार्वत गुरुङ विजयी तथा इश्वरचन्द्र पोखरेलले दोश्रो मत पाउँदा केसीले तेश्रो मत प्राप्त गर्नुभएको थियो ।