दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर १ दामराङमा रहेका सुन्द्रावति आधरभूत विद्यालयका १ सय जना भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका एमाले नेता राजेन्द्र मानन्धरको पहलमा प्राप्त कपडा तथा शैक्षिक सामाग्री शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भरत श्रेष्ठले जानकारी दिनुभयो । लायन्स क्लब अफ काठमाण्डौं भ्याली टेम्पल, नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघ र नेप्लिज फेसन होम तथा मिस नेवाहरुको सहयोगमा १ सय ३२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको नेप्लिज फेसन होमकी अध्यक्ष समाजसेवी हेमा मानन्धरले बताउनुभयो ।
सहयोगी दाताहरुबाट प्राप्त भएको विद्यालय पोशाक तथा शैक्षिक सामाग्री कार्यक्रमका प्रमुख अतिथि गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका एमाले नेता राजेन्द्र मानन्धरले विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको थियो । सिमान्तकृत थामी जातिको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरिएको हो । चिसोको समयमा बालबालिकाहरुलाई कपडा सहयोग गरेकोमा अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्नुहुँदै दोलखाली चेली समेत रहनुभएकी समाजसेवी हेमा मानन्धरले आफू जन्मेको गाउँठाउँका बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लगेको वताउनुभयो । मानन्धरको सहयोगमा यस अघि पनि दोलखाका धेरै विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोसाक वितरण भईसकेको छ ।
कार्यक्रममा नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नेपाल संवत ११३६ की मिस नेवा सुनिता डंगोल, वडा अध्यक्ष वीर बहादुर थामी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर थामी लगायत अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।