दोलखा । यहि पुस २३ गते हुन गईरहेको नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान सचिव भरत प्रसाद दुलालले दाबी गर्दै उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
वर्तमान पार्टी अध्यक्ष इश्वरचन्द्र पोखरेलले नेतृत्व छोड्ने घोषणा गरे लगत्तै दुलालले सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जाल तथा विभिन्न मिडियाहरुमार्फत अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । देशमा समाजवाद स्थापना गर्नका लागि पार्टीलाई वैचारिक र सांगठानिक रुपमा बलियो बनाउन आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको दुलालले बताउनुभयो ।
भिलेज खबरसँग कुराकानी गर्नुहुँदै दुलालले भन्नुभयो, “हामीले युवालाई पद र विचार दुवै दिन जरुरी छ । पार्टीलाई थप सुदृढ बनाउँदै जिल्लामा पुरानो विरासत कायम राख्ने क्षमता मसँग भएका कारण मैले दोलखा एमाले हाँक्ने निर्णय गरेको हुँ ।”
प्रजातान्त्रिक पद्धति अबलम्बन गर्ने पार्टीका नेताहरु पनि आन्तरिक रुपमा कार्यकर्ताबाट परिक्षण गरेर त्यसका आधारमा पार्टीले जिम्मेवारी दिनुपर्ने उहाँको भनाई छ । आन्तरिक वा बाह्य जुनसुकै ठाउँमा पनि जितका लागि जित नभई परिवर्तनका लागि जित हुनपर्ने दुलालको विचार छ ।
यस्तो छ दुलालको राजनितिक पृष्ठभूमी
वि.स.२०३२ साल मंसिर १९ गते बुबा नैनप्रसाद र आमा रुपादेवी दुलालको कोखबाट दोलखाको तत्कालिन काटाकुटी गाविस वडा नम्बर ६ दुलाल टोल (हाल शैलुङ गाउँपालिका वडा नम्बर ५) मा जन्मिनुभएका भरत दुलाल १४ बर्षको उमेरदेखि नै राजनितिमा लाग्नुभएको हो । गाउँकै विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि कक्षा ९ देखि ज्ञानोदय माध्यामिक विद्यालय काठमाण्डौंमा अध्ययन गरिरहँदा बहुदलिय व्यवस्था ल्याउन २०४६ सालमा भएको आन्दोलमा सहभागि हुनुभएका दुलाल राजनितिक जीवनको शुरुवातमै प्रहरी गिरफ्तारीमा परेर प्रहरी हिरासतमा बस्नु परेको थियो ।
ज्ञानोदय माध्यामिक विद्यालयमा अध्ययनरत रहँदा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रारम्भिक कमिटी अध्यक्ष भएर विद्यार्थी राजनितिमा औपचारिक रुपमा लाग्नुभएका दुलाल अनेरास्ववियु काठमाण्डौं जिल्ला कमिटी अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रिय सदस्य समेत हुनुभएको थियो ।
पढाईमा अब्बल रहेका दुलालले डाक्टर बन्ने सोचका साथ एसएलसी उत्तिर्ण भएपछि विज्ञान विषयमा स्नातक तह (वि.एससी) सम्म अध्ययन गर्नुभएको भएपनि विद्यार्थी राजनितिमा सक्रिय हुन थालेपछि एमाले नेता स्व.पशुपति चौलागाँईको परामर्शमा जिल्ला फर्किएर राजनितिमा थप सक्रिय बन्नुभएको हो । १४ बर्ष काठमाण्डौं बसेर २०६० सालमा जिल्ला फर्किएपछि आफ्नै गाउँमा शिक्षण पेशामा संलग्न हुनुभएका दुलालले दुई कार्यकाल नेकपा एमाले काटाकुटी गाउँ पार्टी कमिटीको नेतृत्व गर्नुभएको थियो ।
२०६६ सालमा पार्टी बहुपदीय प्रणालीमा गएपछि भएको आठौं जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटी दोलखाको सचिव पदमा लोकप्रिय मतसहित निर्वाचित दुलालले नवौं अधिवेशनमा उपाध्यक्ष पदमा दाबी गर्नुभएको भएपनि सर्वसहमत नेतृत्व बनाउने भनिएपछि सचिव पदमै दोहोरिएर १२ बर्षदेखि सचिवको रुपमा जिम्मेवारी वहन गरीरहनुभएको छ ।
पदीय जिम्मेवारी
दुलाल २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेद्वार सिंहबहादुर तामाङलाई करिब १ हजार ६ सय मत अन्तरले पराजित गर्दै शैलुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएर काम गरीरहनुभएको छ ।