दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर २ फूलपामा रहेको फूलपा प्राथमिक विद्यालयका करिब ७० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका एमाले नेता राजेन्द्र मानन्धरको पहलमा प्राप्त कपडा तथा शैक्षिक सामाग्री आईतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर वितरण गरिएको हो । लायन्स क्लब अफ काठमाण्डौं भ्याली टेम्पल, नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघ र नेप्लिज फेसन होम तथा मिस नेवाहरुको सहयोगमा ६५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हरिनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सहयोगी दाताहरुबाट प्राप्त भएको विद्यालय पोशाक तथा शैक्षिक सामाग्री नापी कार्यालय दोलखाका प्रमुख समेत रहनुभएका नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धर, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर लगायतले विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै दोलखाली चेली समेत रहनुभएकी समाजसेवी हेमा मानन्धरले नेप्लिज फेसन होमले गरेका कार्यक्रमहरुबाट प्राप्त रकमको २५ प्रतिशत आम्दानी सामाजिक कार्यमा खर्च गर्ने गरेको वताउनुभयो । मानन्धरको सहयोगमा यस अघि पनि दोलखाका धेरै विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोसाक वितरण भईसकेको छ ।
कार्यक्रममा वडा सदस्य निरबहादुर तामाङ, नेपाल संवत ११३६ की मिस नेवा सुनिता डंगोल, विद्यालय व्यवस्थापन समितिका सदस्य बद्री दाहाल लगायत अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।