दोलखा । नेकपा एमाले जिल्ला कमिटी दोलखाका सचिवालय सदस्य राजेन्द्र मानन्धरले यहि पुस २३ गते हुन लागेको पार्टीको १० औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिनु हुने भएको छ ।
अधिवेशनको मिति नजिकिँदै गर्दा बुधबार भिलेज खबरसँग कुराकानी गर्नुहुँदै नेता मानन्धरले आफूले उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको बताउनु भएको हो । पार्टीलाई वैचारिक सुस्पष्टता तथा साङ्गठानिक रुपमा थप मजबुत र परिवर्तनकारी आन्दोलनमा शसक्त बनाउनका लागि नेतृत्व तहमा बसेर काम गर्ने आफ्नो चाहाना र कार्यकर्ताहरुको सुझाव रहेकोले उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको मानन्धरको भनाई छ ।
राजनितिक, सामाजिक र शैक्षिक क्षेत्रमा समेत आफ्नो अस्तित्व स्थापित गराउन सफल व्यक्तित्वका कारण पनि पार्टीको नेतृत्व तहमा कार्यकर्ताहरुले मानन्धरलाई देख्न चाहेका छन् । आफूलाई पार्टीको एक निष्ठावान सिपाहीको रुपमा उभ्याएका मानन्धर पार्टीले दिएको जिम्मेवारी मात्र नभई आफूले नेतृत्व गरेको हरेक संस्थालाई स्थापित गराएरै छोड्ने नजिर बनाएका व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।
राजनितिक जीवनी
२०४७ सालमा विद्यार्थी जीवनबाट राजनितिक यात्रा तय गर्नुभएका मानन्धर गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिव हुँदै अनेरास्ववियुको जिल्ला सचिव, जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनेर काम गर्नुभएको थियो । तत्कालिन नेकपा एमाले चरिकोट गाउँ कमिटीको प्रमुख बनेर पार्टीको नेतृत्व गर्नुभएका मानन्धर २०५३ सालमा नेकपा एमाले भीमेश्वर नगर कमिटी तदर्थ समितिको संयोजक हुँदै नगर कमिटीको प्रथम अधिवेशनबाट पार्टी प्रमुखमा निर्वाचित भएर जिम्मेवारी पूरा गर्नुभएको थियो ।
नेकपा एमालेको छैठौं राष्ट्रिय महाधिवेशनमा दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित तीनजना महाधिवेशन प्रतिनिधिमध्ये मानन्धर लोकप्रिय मत ल्याएर प्रतिनिधिमा छनौट हुनु भएको थियो । मानन्धरले नेकपा माले गठन भएपछि २०५५ मा नेकपा माले दोलखाको सचिवालय सदस्य तथा कार्यालय सचिवको जिम्मेवारी सम्हाली सक्नुभएको छ । नेकपा माले र नेकपा एमाले एकिकरण भएदेखि मानन्धर नेकपा एमालेको जिल्ला कमिटी सल्लाहकार सदस्य हुँदै हाल जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।
पत्रकारिता क्षेत्रका दोलखा जिल्लाकै अब्बल पत्रकारको रुपमा स्थापित मानन्धरले गत मंसिरमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय प्रचार समितिको सदस्य बनेर कुशलतापूर्वक कार्य सम्पादन गर्नुभएको थियो ।
पदीय जिम्मेवारी
पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा अतुलनिय योगदान पु¥याउनु भएका मानन्धर असल कार्यकुशलताकै कारण नेपाल पत्रकार महासंघ दोलखा शाखाको दुई कार्याकाल अध्यक्ष भएर नेतृत्व गर्नुभएको थियो । उहाँकै कार्यकालमा शुरुवात भएको पत्रकार महासंघको भवन निमार्ण योजना अनुरुप महासंघले एकतले भवन निमार्ण गरेर प्रयोगमा आईसकेको छ ।
कलेज टपर भएर पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तिर्ण गर्नुभएका मानन्धर नेपालकै ठूलो मिडिया कान्तिपुर दैनिकको उप सम्पादक भएर करिब दुई दशक काम गरिसक्नुभएको छ । पत्रकारिताको माध्यमबाट हरेक जनजनको मनमनमा बस्न सफल हुनुभएका मानन्धरप्रति आम जनता र कार्यकर्ताले समेत उच्च भरोसा राख्ने गरेको छन ।
दोलखाबाट प्रतिनिधि सभाका सांसदमा निर्वाचित पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री भएको बेला मन्त्री गुरुङको सिफारिसमा मानन्धर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार विज्ञ भएर काम गर्नुभएको थियो ।
शैक्षिक क्षेत्रबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुने मानन्धर दोलखा जिल्लाकै सबैभन्द जेठो र ठूलो सामुदायिक क्याम्पस गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालन समितिको सदस्य हुँदै अध्यक्ष बनेर दोश्रो कार्याकाल काम गरीरहनुभएको छ । मानन्धर अध्यक्ष भएपछि क्याम्पसको शैक्षिक, भौतिक र प्रशासनिक अवस्थामा समेत उल्लेख्य सुधार आएको विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले अनुभूति गरेका छन् ।