दोलखा । यहि पुस २३ गते हुन लागिरहेको नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिवेशनमा सचिव पदमा दुई जनाले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
उम्मेद्वारी दिने घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु हिरा थोकर र होम पाठक रहनुभएको छ । अध्यक्षदेखि उपसचिवसम्मका पदाधिकारीमा धेरैले आकाङ्क्षा देखाए पनि सचिवमा उम्मेद्वारी दिने घोषणा गर्नेको संख्या दुई मात्र देखिएको हो । युवाहरुका माझमा लोकप्रिय मानिने युवा नेता थोकरले सबैभन्दा पहिले सचिवमा उम्मेद्वारी दिने घोषणा गरेपछि सचिवमा आकाङ्क्षा देखाउनेको संख्या कमी भएको हुन सक्ने कतिपयको आकलन छ ।
यस्तो छ हिरा थोकरको राजनितिक यात्रा
दोलखाको साविक घ्याङसुकाठोर गाविस (हाल मेलुङ गाउँपालिका वडा नम्बर ३) मा जन्मनु भएका थोकर त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययरत रहँदा २०४३ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनितिमा प्रवेश गर्नुभएको हो । २०४६ को जनआन्दोलनमा सहभागि हुनुभएका थोकर तत्कालिन मालेको भिलेज एक्टिभ ग्रुप गाउँ कमिटी सदस्य हुँदै माले र एमाले एकिकरण भएपछि २०४७ सालमा नेकपा एमाले गाउँ पार्टी कमिटीको सदस्य बनेर काम गर्नुभएको थियो ।
२०४९ सालमा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल घ्याङसुकाठोकर गाउँ कमिटीको सचिव हुँदै २०५१ मा गाउँ पार्टी कमिटीको उपसचिव बन्नुभएका थोकर २०५४ सालको स्थानीय निकायको निर्वाचनमा घ्याङसुकाठोकर गाविस वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०५५ मा गाउँ पार्टी कमिटीको सचिव भएर नेतृत्व गर्नुभएको बेला थोकरले तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दोलखाको सह–सचिवको जिम्मेवारी पाउनुभएको थियो ।
तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको सचिवको भूमिकामा रहेको बेला ससस्त्र द्वन्द्वको विरोध गरे बापत तत्कालिन विद्रोही माओवादी पक्षबाट अपहरणमा पर्नुभएका थोकर तीनदिनपछि रिहा हुनुभएको थियो । २०६३ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य बन्नु भएका थोकर २०६४ मा युवा संघ दोलखाको अध्यक्ष हुँदै २०६७ सालदेखि हालसम्म लगातार एमाले जिल्ला कमिटी सचिवालय सदस्यको रुपमा काम गरीरहनु भएको छ ।
विद्यार्थी जीवनदेखि नै पूर्णकालिन राजनितिमा लाग्नुभएका थोकर २०६६ सालमा गौरीशङ्कर बहुमुखी क्याम्पसमा माओवादी निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) सँग प्रतिवाद गर्ने पहिलो एमाले नेता आफू भएको दाबी गर्नुहुन्छ ।
पूर्णकालिन राजनति गरेकै कारण आफ्नो आर्थिक र शैक्षिक अवस्था कमजोर बनेको बताउने थोकर २०७४ भएको स्थानीय तहको निर्वाचनमा मेलुङ गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा लोकप्रिय मतसहित विजयी भएर काम गरीरहनुभएको छ ।
यस्तो छ होम पाठकको राजनितिक यात्रा
दोलखाको सुनखानी गाविसमा जन्मनुभएका पाठक भीम माध्यामिक विद्यालय दोलखामा अध्ययरत रहँदा २०३८ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीको कोषाध्यक्ष भएर विद्यार्थी राजनितिमा होमिनुभएको हो । राजनितिमा अगाडि बढ्ने क्रममा २०४९ सालमा नेकपा एमाले गाउँ पार्टी कमिटीको सचिव बन्नु भएका पाठक तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको सचिव हुँदै उपाध्यक्ष भएर काम गर्नुभएको थियो ।
नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै हाल सचिवालय सदस्य बनेर भूमिका निर्वाह गरीरहनु भएका पाठक सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । खासगरी १० बर्षे द्वन्द्वको समयमा मानव अधिकारकर्मी बनेर भूमिका खेल्नुभएका पाठक राज्य र विद्रोही दुवै पक्षबाट जोखिममा परेको बताउनुहुन्छ । मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको लामो समय नेतृत्व गर्नुभएका पाठकले गैरसरकारी क्षेत्रबाट समाजमा योगदान गर्नुभएको थियो ।
आमसञ्चारको क्षेत्रमा समेत भिज्नुभएका पाठक रेडियो शैलुङ, दोलखाको संस्थापक अध्यक्ष हुनुहुन्छ । आफूलाई सामाजिक अभियान्ताको रुपमा स्थापित गराउनुभएका पाठक सामाजिक संस्था रेडक्रस सोसाईटी नेपालको निवर्तमान केन्द्रिय सहकोषाध्यक्ष समेत हुनुहुन्छ ।
पार्टीमा वैचारिक अवस्थालाई सुदृढ गरी आम नागरिकको जनजीवनसँग जोडिन सक्ने निति निमार्ण गरेर कार्यान्वयन गर्नका लागि आफूले उम्मेद्वारी दिन लागेको पाठकको भनाई छ ।