दोलखा । नेकपा एमाले दोलखाको नवनिर्वाचित नेतृत्वको शनिबार सम्पन्न पहिलो बैठकले पार्टीको संगठन सुधारदेखि जिम्मेवारी बाँडफाँडका विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।
नेकपा एमाले दोलखाको प्रचार तथा प्रकाशन विभागले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर दुई दिनसम्म चरिकोटमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गरेको हो । बैठकले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै पार्टी प्रवेश अभियान, फागुन मसान्तसम्म तल्ला कमिटीको बैठक तथा परिचालन, टोल कमिटी गठन, पालिकास्तरमा कार्यालय स्थापना गर्ने निर्णय गरेको एमाले दोलखा अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी पार्टी संगठन निमार्णका सम्बन्धमा जनतासँग अन्तरक्रिया, वडा तहसम्म जनवर्गीय संगठन गठन, संगठित सदस्यता अद्यावधिक र आत्मनिर्भर दोलखाली अभियान सञ्चालन हुने भएको छ ।
पार्टी संगठनलाई व्यवस्थित बनाउन भन्दै विभिन्न २८ वटा विभाग गठन गरेर जिम्मेवारी तोकेको छ । जसअन्तर्गत जनसंगठन समन्वय विभाग प्रमुख अध्यक्ष नरबहादुर श्रेष्ठ, प्रचार तथा प्रकाशन विभाग प्रमुख उपाध्यक्ष राजेन्द्र मानन्धर, संगठन विभाग प्रमुख सचिव हिरा थोकर, स्कुल विभाग प्रमुख उपसचिव धर्मेन्द्र मोक्तान, अखिल नेपाल महिला संघ इन्चार्ज उपसचिव कमला बस्नेत रहनुभएको छ ।
त्यसैगरी आर्थिक विभाग प्रमुख मुरारीराज शिवाकोटी, शिक्षा तथा मानव विकास श्रोत प्रमुख शान्त केसी, नेपाल बुद्धिजिवी परिषद विभाग प्रमुख रामप्रसाद सापकोटा, सहकारी तथा गरिबी निवारण विभाग प्रमुख हेमन्त चौलागाँई, उद्योग तथा वाणिज्य विभाग प्रमुख शिवजी राउत रहनुभएको छ । विपद् व्यवस्थापन विभाग प्रमुख सुन्दर कार्की, नेपाल खेलकुद महासंघ इन्चार्ज नेत्र मोक्तान, राष्ट्रिय युवा संघ नेपाल इन्चार्ज महाराज गुरुङ, दोलखा काठमाण्डौं सम्पर्क मञ्च इन्चार्जको जिम्मेवारी गणेश शिवाकोटीले पाउनुभएको छ ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा पार्टी उपाध्यक्ष उपाध्यक्ष राजेन्द्र मानन्धरले नेकपा एमाले दोलखा मिडियामैत्री हुने र पार्टीको दुष्प्रचारका लागि प्रेस स्वतन्त्रताको दुरुपयोग गर्ने मिडियालाई भने खबरदारी गर्ने बताउनुभयो ।