दोलखा । चरिकोटस्थित दोलखाकै जेठो गौरीशङ्कर बहुमुखी क्याम्पसले मङ्गलबार आफ्नो ४१ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले अहिलेको समयमा विषयगत शिक्षासँगै नैतिक शिक्षाको टड्कारो आवश्यकता रहेको बताउनुभएको छ । नैतिक शिक्षा विस्तार गर्न सके नागरिक देशप्रति जिम्मेवार बन्ने र देशभित्र रहेका सम्भावनाको खोजी गरेर समृद्ध र सभ्य समाज निर्माणमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
क्याम्पस सञ्चालक समितिका वर्तमान अध्यक्ष राजेन्द्र मानन्धरले हिमाली जिल्लाहरुकै ठूलो र पहिलो क्याम्पसको रुपमा रहेकोले गौरीशङ्कर बहुमुखी क्याम्पसलाई हिमाली विश्वविद्यालयको रुपमा विकास गर्न सकिने सम्भावना रहेको भन्दै आवश्यक सहयोगको लागि सबैलाई आग्रह गर्नुभयो ।
त्यसैगरी हाल क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म १ हजार २ सय ४६ जना विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख शान्त बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसबाट बार्षिक रुपमा एक सय भन्दा बढी विद्यार्थीले स्नातक तह उत्तिर्ण गर्ने गरेकोमा ८५ प्रतिशतले रोजगारी पाउने गरेका छन् ।
स्थापना दिवसको अवसरमा क्याम्पस सञ्चालक समिति सदस्यहरु बालकृष्ण बस्नेत प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त र रमेश खतिवडा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकोमा बधाईसहित सम्मान गरिएको छ । त्यसैगरी कोभिडको कारण निधन हुनुभएका बागमती प्रदेशसभा सांसद पशुपति चौलगाँई, पूर्व विद्यार्थी समाजका अध्यक्ष श्रीकृष्ण दाहाललाई मरणोपरान्त सम्मान गरिएको छ ।
त्यस्तै क्याम्पस सभाकी प्राज्ञ स्वर्गीय रुपा श्रेष्ठ र क्याम्पसका पूर्व सहायक प्राध्यापक स्वर्गीय पुष्करनाथ पोखरेललाई पनि मरणोपरान्त सम्मान गरिएको छ ।
कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रिय सदस्य दिनेशराज शिवाकोटी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य राजन बस्नेत, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाँई, विद्यार्थी गुणस्तर सर्कलका अध्यक्ष गोपाल खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।